
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले २०४६ सालयताका सबै भ्रष्टाचार प्रकरणहरुको फाइल खोलेर देशलाई न्याय दिने उद्घोष गर्नुभएको छ ।
शुक्रवार विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । उहाँले आफ्नो जितलाई पदभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनु भयो । निकटतम प्रतिद्वन्द्वीभन्दा अत्याधिक फराकिलो बढी मत ल्याएर विजयी हुनुभएका श्रेष्ठले यो जित सुशासन, भ्रष्टाचार अन्त्य र परिवर्तनको पक्षमा जनताले दिएको बलियो जनादेश भएको प्रस्ट पार्नुभयो । देशभर देखिएको रास्वपाको लहर र जनताको उत्साहजनक समर्थनबारे बोल्दै उहाँले यो आम नागरिकको परिवर्तनप्रतिको चाहना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदमा हाम्रो सानो संख्या हुँदा पनि सामथ्र्यले भ्याएसम्म भ्रष्टाचार र मानव तस्करीविरुद्ध डटेर आवाज उठायौँ । त्यही बेला भएको ‘जेन–जी’ आन्दोलनले ताजा जनादेशको माग ग¥यो । अहिलेको नतिजाले नेपाली नागरिक सुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छन् भन्ने प्रमाणित गरेको छ । जनताले हामीले अपेक्षा गरेभन्दा बढी विश्वास गरेर ठूलो जिम्मेवारी सुम्पनुभएको छ । मानव तस्करीविरुद्धको फाइलबाट शुरु गर्दै २०४६ सालयताका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोलेर देशलाई न्याय दिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ । यस विषयमा हामी पार्टी र संसदीय दलमा पनि गम्भीर छलफल गर्नेछौँ ।’
आगामी योजना र संसदमा खेल्ने भुमिकाबारे स्पष्ट पार्दै उहाँले अबको प्रमुख दायित्व नीतिगत सुधार हुने बताउनु भयो । अनावश्यक नीतिहरू खारेज गर्ने, भएका नीतिलाई परिमार्जन गर्ने र आवश्यक नयाँ नीतिहरू निर्माण गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने संकेत गर्नुभयो । सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै उहाँले देश बनाउने काम कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण नेपालीको सामूहिक जिम्मेवारी भएको बताउनु भयो ।
त्यसैगरी, पुराना राजनीतिक दलहरूप्रति टिप्पणी गर्दै श्रेष्ठले उनीहरूको विगतको लोकतान्त्रिक योगदानको कदर गर्नुभयो । पुराना दलहरूले अहिलेको जनमत र नतिजालाई स्वीकार गरेको भन्दै उहाँले अहिलेसम्मको अनुभव र विशेषगरी राजनीतिमा ‘के गर्नु हुँदैन’ भन्ने सिकाइ हाम्रो नयाँ पुस्ता र समग्र देशका लागि मार्गदर्शन बन्ने बताउनु भयो ।





