
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै देशभरका सबै विश्वविद्यालयहरूले आफ्नो बजेट र कार्यक्रम पारित गरिसकेको जानकारी दिएका छन्।
पछिल्लो हप्ता विश्वविद्यालयहरूको सिनेट बैठकहरूमा आफूले अधिकांश समय खर्च गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक विश्वविद्यालयहरूलाई थितिमा ल्याउने प्रयास सफल भएको बताए।
“विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा मात्र खर्च अनुमोदन गर्ने विकृति थियो,” प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “तर, यसपटक सबै विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्।”
उनले थप लेखेका छन्, “यसका लागि धेरै समय दिनु परे पनि सन्तुष्टि मिलेको छ। अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम समयमै सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको छ।”
भारतको अहमदाबादमा गत जुन १२ मा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान सम्बन्धी एक नयाँ दाबी सार्वजनिक भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रमुख पाइलट सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति (फ्युल सप्लाइ) बन्द गरेको उल्लेख गरेको छ। पत्रिकाले विमानका दुई पाइलटबीच भएको अन्तिम संवादको ककपिट भ्वाइस रेकर्डिङका आधारमा यो दाबी गरेको हो।
भ्वाइस रेकर्डिङमा सह–पाइलट क्लाइभ कुन्दर पाइलट सभरवाललाई सोधिरहेका सुनिन्छन् — “तपाईंले फ्युल स्विचलाई ‘कट अफ’ अवस्थामा किन राख्नुभयो?” सोध्ने क्रममा सह–पाइलटको स्वरमा स्पष्ट रूपमा हैरानी र त्रास झल्किएको बताइएको छ। तर, पाइलट सभरवाल भने शान्त सुनिन्छन्।
सभरवाल एयर इन्डियाका वरिष्ठ पाइलट हुन् र उनीसँग १५,६३८ घण्टाको उडान अनुभव रहेको जनाइएको छ। सह–पाइलट कुन्दरसँग ३,४०३ घण्टाको उडान अनुभव छ।
वाल स्ट्रिट जर्नलले यो विवरण अमेरिका स्थित प्रारम्भिक अनुसन्धानमा संलग्न स्रोतहरूको भनाइ उद्धृत गर्दै प्रकाशित गरेको हो। हालसम्म भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB), नागरिक उड्डयन महानिर्देशनालय (DGCA), नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एयर इन्डियाले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।
पाँच दिनअघि भारतले पाइलटहरूको संवादसमेत सार्वजनिक गरिसकेको छ। यसअघि, जुलाई १२ मा विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB)ले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा फ्युल स्विच अचानक ‘रन’ स्थितिबाट ‘कट अफ’ स्थितिमा गएको जनाइएको छ, जसका कारण दुवै इन्जिन बन्द भएका थिए।
यद्यपि, प्रतिवेदनमा फ्युल स्विच कसरी बन्द गरियो भन्ने विषयमा स्पष्ट विवरण दिइएको छैन। प्रतिवेदनअनुसार, ककपिट भ्वाइस रेकर्डरमा एक पाइलटले अर्काेलाई इन्धन किन बन्द गरियो भनेर सोधेको र दोस्रो पाइलटले आफूले त्यस्तो नगरेको जवाफ दिएको उल्लेख गरिएको छ।
इन्धन स्विचमा कुनै समस्या छैन : एयर इन्डिया
एयर इन्डियाले आफ्ना सबै बोइङ–७८७ विमानहरूको इन्धन नियन्त्रण स्विच (Fuel Control Switch) मा कुनै त्रुटि नरहेको स्पष्ट पारेको छ। कम्पनीले बुधबार पाइलटहरूलाई पठाएको सन्देशमा अनुसन्धानको क्रममा स्विचमा कुनै प्राविधिक समस्या फेला नपरेको उल्लेख गरिएको छ।
यसबाहेक, सबै बोइङ–७८७ विमानहरूमा थ्रोटल कन्ट्रोल मोड्युल (TCM) परिवर्तन गरिएको पनि जानकारी दिइएको छ। टीसीएम इन्धन नियन्त्रण प्रणालीको एक अत्यन्त महत्वपूर्ण भाग हो।
जुलाई १४ मा, नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले सबै एयरलाइन्सहरूलाई आफ्नो बोइङ–७३७ र ७८७ विमानका इन्धन स्विचहरूको परीक्षण जुलाई २१ भित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको थियो। एयर इन्डियासँग हाल ३३ वटा बोइङ–७८७ ड्रीमलाइनर विमानहरू छन्।
यता, इन्डिगोसँग सात वटा बी–७३७ म्याक्स ८ र एक वटा बी–७८७–९ विमान छन्। तर यी सबै विमानहरू भाडामा लिइएको हुनाले भारतमा दर्ता भएका छैनन्।
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइएको र महिलालाई महिनावारीको समयमा त्यहाँ बस्न बाध्य पारिएको खण्डमा, त्यस्ता व्यक्तिलाई स्थानीय तहबाट प्रदान गरिँदै आएको सुविधा पुनरावलोकन गरिने बताएका छन्।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटका क्रममा मन्त्री लेखकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका सबै स्थानीय तहलाई यस्तो आशयको परिपत्र पठाउने गृहकार्य थालिने बताएका हुन्।
“महिनावारी सम्बन्धी अन्धविश्वास अझै पनि गहिरो रूपमा गाँसिएको छ,” मन्त्री लेखकले भने, “यसको निराकरणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा अन्तर पार्टी महिला सञ्जालको सुझाव र सहकार्य आवश्यक छ।”
महिला हिंसा र बलात्कारजस्ता गम्भीर अपराधप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले थपे, “महिलाको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षाको विषयमा म गम्भीर छु। अपराध गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया निरन्तर चलिरहेको छ।”
भेटको अवसरमा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरी नेतृत्वको टोलीले महिला तथा बालबालिकामाथि हुने विभेद र हिंसाका घटनाहरू रोकथाम गर्नुपर्ने आवश्यकता औँल्याउँदै, त्यससम्बन्धी ज्ञापनपत्र गृहमन्त्री लेखकलाई बुझाएको थियो।
वैशाखदेखि असारसम्मको तीन महिनामा देशभर २,०६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती घटनाहरूमा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार, तीन महिनामा भएका घटनाबाट हालसम्म ४४५ जना घाइते भएका छन्। ती विपद्बाट ४,१३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी उनले दिएका छन्।
प्राधिकरणले बिहीबार सार्वजनिक गरेको २०८२ सालको पछिल्लो तीन महिनाको विवरणअनुसार, बाढीका मात्र १३७ घटना भएका छन्। ती बाढीजन्य घटनाबाट १३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा धेरै मानवीय क्षति पुर्याएको थियो। उक्त घटना माथिल्लो क्षेत्रमा भएको हिमताल विस्फोटका कारण भएको बताइएको छ।
यस्तै, पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङ लागेर २६, आगलागीबाट १४, जंगली जनावरको आक्रमणबाट १२, र लेक लागेर ११ जनाको ज्यान गएको प्रवक्ता सुनारले जानकारी दिए। त्यस्तै, हावाहुरी, सर्पदंश र भारी वर्षाजस्ता अन्य घटनाबाट पनि जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ।
बाढीबाट मात्रै १,२४६ परिवार र आगलागीबाट १,०४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलोलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
लगातार दुई जना मन्त्री घुसकाण्डमा जोडिएको अडियो सार्वजनिक भइसकेको छ। तर, यस्ता गम्भीर घटनामा अनुसन्धान गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर बसेझैँ देखिन्छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको घुसकाण्डमा मुछिएको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबका बीच उनले राजीनामा दिइसकेका छन्। तर, उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन र कारबाहीको कुनै प्रक्रिया अगाडि बढाएको छ या छैन भन्नेबारे स्पष्टता छैन।
अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायका अनुसार, भ्रष्टाचारका आरोप लागेका व्यक्तिहरूको अनुसन्धान अख्तियारले नै गर्नुपर्छ। “घुसकाण्डमा मुछिएका मन्त्रीहरूका अडियोहरू सार्वजनिक भइसकेका छन्, त्यसको आधारमा अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान अगाडि बढाउन सक्छ, सरकारले निर्देशन दिनुपर्ने कुरा होइन,” उपाध्याय भन्छन्।
गुप्तासँगै भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र एकजना सचिवसमेत जोडिएको अर्को अडियो पनि सार्वजनिक भइसकेको छ। एकपछि अर्को गर्दै मन्त्री र सचिवहरू नै भ्रष्टाचार प्रकरणमा तानिँदा पनि सरकार र अख्तियारजस्ता जिम्मेवार निकायहरूको मौनताले सुशासनको नारालाई नै कमजोर बनाएको छ।
मन्त्रीहरूले राजीनामा दिएपछि उनीहरू सजायबाट उन्मुक्ति पाउने हुन् त? भन्ने आशंका बढ्दो छ। गम्भीर फौजदारी अपराध वा किर्तेजस्ता अभियोग लागेका उच्चपदस्थहरूले राजीनामा दिँदैमा उनीहरूलाई कानुनी कारबाहीबाट जोगाउने परिपाटी बस्न थालेकोप्रति धेरैले चिन्ता व्यक्त गरेका छन्।
राजीनामा वा बर्खास्ती अनुसन्धानको सुरुवात बिन्दु मात्रै हुनुपर्नेमा त्यसैलाई कारबाहीको अन्त्य मान्दा दण्डहीनता मौलाउने गुनासो सरोकारवालाहरूले गरिरहेका छन्।
गुप्ताले असार ३१ गते राजीनामा दिएका थिए। यद्यपि उनले आफूले घुस लिएको स्वीकार गरेका छैनन्। बरु प्रविधिको दुरुपयोग गरेर आफूलाई फसाइएको दाबी गर्दै आएका छन्।
भ्रष्टाचारको प्रकरणमा मुछिएका मन्त्रीहरूको सम्बन्धित पार्टीहरूले समेत कुनै स्पष्ट धारणा सार्वजनिक गर्न चाहेका छैनन्।
पूर्व मुख्यसचिव डा. भोजराज पोखरेल भन्छन्, “राजीनामा दिनु भनेको भ्रष्टाचारबाट उन्मुक्ति पाउनु होइन। कानुन अनुसार अनुसन्धान गरी मुद्दा चलाइनुपर्छ, तर हाम्रो देशमा यस्ता घटनालाई बेवास्ता गर्ने प्रवृत्ति छ।”
उनको भनाइमा, “भ्रष्टाचार भनेको नैतिक र कानुनी रूपमा आपत्तिजनक आचरण हो। पदमा रहेकाले शपथ खाएका हुन्छन्, र त्यस्तो आचरण शपथको उल्लंघन हो। पद त्याग गरेपछि नैतिक जिम्मेवारी सकिएको हुँदैन, त्यसैले छानबिन आवश्यक छ।”
पोखरेलको जोड छ — “भ्रष्टाचार अपराध हो। पदबाट हटे पनि अपराध बाँकी रहन्छ। कसरी र कहाँ लेनदेन भयो? को-को संलग्न थिए? भन्नेबारे गहिरो छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनैपर्छ।”
उनका अनुसार विगतमा परिस्थितिजन्य घटनाका कारण केही नेताहरूले राजीनामा दिएको प्रसंग फरक प्रकृतिको थियो। “जस्तै दशरथ रंगशाला घटनामा केशरबहादुर विष्ट र सिंहदरबार प्रकरणमा कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए,” उनले भने।
गुप्ता र अधिकारीमात्र होइन, यसअघि पनि विभिन्न उच्चपदस्थहरू घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएर उम्किएको थुप्रै उदाहरण छन्। सन् २०७६ मा तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिशन काण्ड, २०६७ मा माओवादी नेता कृष्णबहादुर महराको ५० करोड मागेको अडियो टेप र रास्वपाका सांसद ढाकाराम श्रेष्ठको मन्त्री बन्न घुस मागेको अडियोसमेत सार्वजनिक भए पनि कुनै ठोस अनुसन्धान र कारबाही भएन।
भ्रष्टाचारको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र पर्ने भएकाले आयोगले सक्रिय भई छानबिन अघि बढाउनुपर्नेमा पूर्व मुख्यसचिव पोखरेलको जोड छ।
“भ्रष्टाचार हुन नदिने जिम्मेवारी सरकारको हो भने, एकपटक भएको भ्रष्टाचारमा अनुसन्धान र कारबाहीको जिम्मेवारी अख्तियारको हो,” पोखरेल स्पष्ट रूपमा भन्छन्, “सरकारले छानबिन गर भने मात्रै गर्ने र नगर भने नगर्ने भन्ने होइन। अख्तियारले स्वतन्त्र रूपमा काम गर्नुपर्छ।”
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। घटना बुधबार साँझ भएको हो।
३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी एलिसाको उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंको केएमसी अस्पताल ल्याइएको छ।
जिल्ला प्रमुख अधिकारी श्यामकृष्ण थापाका अनुसार, वर्षाका कारण सडकको अवस्था खराब भएकाले घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो।
२०८२ साउन १ गते बिहान १ बजेको समयमा इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बल नोचाको संयुक्त टोलीद्वारा मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोला किनारबाट १० बोरा गाजा बरामद गरिएको छ। बरामद गरिएको गाजाको तौल करिब ३०० किलोग्राम रहेको प्रहरीले जनाएको छ।
यसअघि १० दिनअघि पनि सोही स्थानबाट करिब ८०५ किलोग्राम गाजा बरामद गरिएको थियो। अहिले उक्त स्थानबाट झण्डै १०० मिटर पूर्वतर्फको खोला किनारमा पुनः ३०० किलोग्राम गाजा फेला परेको हो।
सम्बन्धित निकायहरूले लागुऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जारी गरिएको सुनामी चेतावनी केही समयमै एडभाइजरीमा झारिएको छ।
अमेरिकी नेसनल वेदर सर्भिस (NWS) का अनुसार, भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे अलास्काको पोपोफ टापुस्थित स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ।
अलास्का भूकम्प केन्द्रका अनुसार, भूकम्पको झट्का अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किलोमिटर टाढा पर्छ। सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको करिब १,१२६ किलोमिटर दूरीमा पर्ने क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो। उक्त क्षेत्रमा कोडियाक जस्ता केही ठूला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनाको जनसङ्ख्या छ।
तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जानकारी दिएको थियो। त्यसपछि चेतावनीलाई एडभाइजरीमा रूपान्तरण गरियो र अन्ततः दिउँसो २:४५ बजेभित्रै पूर्ण रूपमा रद्द गरिएको थियो।
यद्यपि सुनामीको खतरा न्यून रहेको भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
भारतको बिहार राज्यको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा हाल बाढीको स्थिति छ। झारखण्डमा निरन्तर वर्षाका कारण बाढी आउँदा फाल्गु नदीको पानीको सतह लगातार बढिरहेको छ। बुधबार बिहारका विभिन्न जिल्लामा चट्याङ लागेर २० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ। यद्यपि, यस वर्षा ऋतुमा हालसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको बताइएको छ।
यता, हिमाचल प्रदेशमा जुन २० यता परेको भारी वर्षाले १०६ जनाको ज्यान गएको छ। मुसलधारे वर्षा र बादल फट्ने घटनाका कारण सरकारी तथा निजी गरी ८१८ करोड रुपैयाँको सम्पत्तिमा क्षति पुगेको बताइएको छ।
दिल्ली–एनसीआर क्षेत्रमा पछिल्लो एक हप्तादेखि लगातार भारी वर्षा भइरहेको छ। पछिल्ला तीन दिनदेखि झनै तीव्र वर्षा भइरहेकाले बुधबार दिल्ली विमानस्थलमा अवतरण गर्न लागेका ६ वटा उडानहरू डाइभर्ट गर्नुपरेको थियो।
आसामको दिमाहासाओ जिल्लामा राष्ट्रिय राजमार्ग निर्माणका क्रममा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जम्मू–कश्मीर क्षेत्रमा भारी वर्षाको चेतावनी जारी भएपछि अमरनाथ यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत असर देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले हाल देशभर सामान्यतः बदली भएको छ।
गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको अवस्था:
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।
-
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा
-
तथा अन्य प्रदेशका केही स्थानहरूमा
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यी नै पाँच प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने देखिन्छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ।
रातिको अवस्था:
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
-
कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा
-
तथा अन्य भूभागका एक–दुई स्थानमा
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सावधानी:
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा सम्भावित भारी वर्षाका कारण
-
भूक्षय,
-
बाढी,
-
पहिरो
-
तथा गेग्रान बहाव (debris flow) को जोखिम रहने भएकाले
महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।





