
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट ल्याउन नसकेको भन्दै क्षमायाचना गरेकी छिन्।
आइतबार बसेको काठमाडौं महानगरपालिकाको १७औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै उनले महानगरवासी र सरोकारवालासमक्ष क्षमा मागेकी हुन्।
उपप्रमुख डंगोलले भनिन्, “समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत र नगरसभाका सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं।”
उनले विगत केही दिनमा महानगरभित्र तितामिठा अनुभव भए पनि ती मन्थनको प्रक्रियाबाट समाधानतर्फ अग्रसर भएको उल्लेख गरिन्। “विगतका दिनमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए। आरोप–प्रत्यारोप पनि भए। तर सबै कुरा मन्थन हुँदै समाधानतर्फ गइरहेको छ,” उनले भनिन्, “आज हामी फेरि एकढिक्का भएर यो गरिमामय सभामा उपस्थित भएका छौं।”
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। तर काठमाडौं महानगरपालिकाको आन्तरिक विवादका कारण यो प्रक्रिया ढिलो भएको हो।
चिनियाँ पक्षले उपकरणको प्रयोग गरी भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको बाढीले थुनिएको केरुङ खोलाको पानी खोल्न सुरु गरेको छ। बाढीले केरुङतर्फबाट आएको खोलाको बहाव अवरुद्ध भएपछि सीमापारी तिब्बततर्फ जमेको पानी हटाउन चिनियाँ सुरक्षाकर्मी र प्राविधिक टोली उपकरणसहित परिचालित गरिएको हो।
स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्। केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासका केही घरसमेत डुबानमा परेको जनाइएको छ।
असार २३ गते केरुङबाट सामान लिई फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नसक्दा सीमापारी तिब्बततर्फ नै थन्किएका थिए। सोही दिन राति आएको भीषण बाढीले ती कन्टेनरहरू डुबानमा परेका हुन्।
नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भइसकेका तर चालक अभावका कारण काठमाडौं लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीका ६ वटा ठूला ट्रक र सञ्चालनमा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। क्षतिग्रस्त केही सवारीसाधनहरूलाई अहिले सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको उनले बताए।
असार २४ गते अचानक आएको ल्हेन्दे खोलाको बाढीले ६ जना चिनियाँ, ३ जना नेपाल प्रहरी र ५ जना नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिएका छन्। यस्तै, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुरवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा कार्यरत नेपालीसहित ६ जना चालकसमेत गरी २० जनालाई बाढीले बगाएको छ।
बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्स कम्पनीका उपकरणहरूमध्ये टिफर १, सिमेन्ट मिक्सर १, स्काभेटर १, रोलर १ र हाइलक्स जिप १ समेत बगाएको छ।
उक्त घटनाका साक्षी एक स्थानीयले भने, “खोलामा एक्कासि बाढी आएछ, सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ जान भन्दै कराउन थाले, हामी अतालिएर भाग्यौं। भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने घट्टेखोला पुगेर ज्यान जोगाउन सफल भयौं।”
गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामी छिरिङ तामाङका अनुसार बाढीको सूचना पाएपछि भन्सार यार्डमा रहेका मानिसहरूलाई सतर्क गराइएको थियो। उनले जोखिममा रहेका वडावासीहरूलाई पनि सचेत गराएको र बाढीका कारण ठूलो धनजनको क्षति भएको बताए।
अध्यक्ष तामाङले बाढीबाट प्रभावित बासिन्दालाई राहत वितरण तथा काम विशेषले केरुङमा अड्किएका नेपालीलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
स्थानीय पुरुषोत्तम पौडेलका अनुसार ‘मानसरोवर–कैलाश’ तीर्थयात्रा गरी फर्केका तीर्थयात्रीहरू मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको छ। यस्तै, असार २४ र २५ गते मानसरोवर–कैलाश यात्रा सकाएर फर्किएका यात्रुहरूलाई हेलिकप्टरमार्फत गन्तव्यमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू खोज, उद्धार र राहत कार्यमा खटिएका छन्।
बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड पूर्ण रूपमा ध्वस्त भएका छन्, जसले गर्दा जनजीवन प्रभावित भएको छ। रसुवागढी आसपासका क्षेत्रमा क्षतिको विवरण संकलनको काम सुरू गरिएको छ भने स्थानीयवासीहरू भयभीत अवस्थामा छन्।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ।
शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम तथा सहकारी सुधार योजनालाई समेत अगाडि बढाइने बताएका हुन्।
उनले प्रस्तुत नीति तथा कार्यक्रममा यी योजनाहरू समावेश गर्दै महानगरभित्र उद्यमशीलता र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने रणनीति अवलम्बन गरिएको उल्लेख गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको छ।
यस प्रारम्भिक टोलीमा प्रतिबन्धमुक्त भएका खेलाडी मोहमद आदिल आलम पनि समावेश छन्। यस्तै, स्कटल्यान्डविरुद्धको सिरिजका लागि टिमबाट बाहिर रहेका कुशल मल्ललाई पनि क्याम्पमा बोलाइएको छ, जसले उनलाई पुनः राष्ट्रिय टोलीमा फर्कने अवसर दिलाउन सक्छ।
मोहमद आदिल आलम सन् २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए। त्यसपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बनमा परेका थिए।
तर, क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान तथा प्रक्रिया पूरा गरेपछि उनलाई २०८२ वैशाख २१ गतेदेखि पुनः क्रिकेट गतिविधिमा सहभागी हुन अनुमति दिएको हो। यससँगै उनी फेरि नेपाली टोलीमा प्रतिस्पर्धा गर्ने योग्य भएका छन्।
क्यानले प्रशिक्षणका लागि बोलाएको प्रारम्भिक टोलीमा समावेश ३२ खेलाडीहरू यस्ता छन्:
रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती।
यस प्रारम्भिक टोलीबाट छनोट हुने अन्तिम टिमले एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटमा प्रतिस्पर्धा गर्नेछ। यही छनोटमार्फत नेपालले सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा सहभागिता जनाउने अर्को अवसर पाउनेछ।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
कीर्तिपुर नगरपालिका–६ चोभारडाँडास्थित पोखरीमा आइतबार बिहान डुबेका दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कालिमाटी बस्ने १० वर्षीय विवेक तामाङलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सकुशल उद्धार गरेका हुन्।
तामाङ आफ्ना साथीसँग सो ठाउँमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण, कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा परिचालित टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनलाई पोखरीबाट सकुशल निकालिएको हो।
डुबेका बालकलाई तत्कालै उद्धार गरी कीर्तिपुर अस्पतालमा उपचारका लागि लगिएको र हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी भएका कारण छाउगोठमा सुतिरहेकी उनलाई शुक्रबार राति सर्पले डसेको थियो।
कमला हालै मात्र भारतबाट श्रीमानसँगै फर्किएकी थिइन्। उनी भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा एक तले पक्की घर बनाएकी थिइन्। तीन छोराको भविष्य बनाउने सपना बोकेर उनी घर फर्किएकी थिइन्।
शुक्रबार साँझ महिनावारी भएपछि उनी परम्पराअनुसार छाउगोठमा सुत्न गइन्। पानी चुहिने भएकोले आफ्नै घरको गोठमा बस्न नमानेर छिमेकी तथा नातामा जेठाजु पर्ने सुके आउजीको घरमा बनाइएको छाउगोठमा गइन्।
राति सुतिरहेकै बेला उनलाई सर्पले बाँया गालामा डस्यो। बोल्न सक्ने अवस्थामा रहेकी उनले छरछिमेकीलाई खबर गरेकी थिइन्। डसेको करेत सर्प उनका बिस्तारानजिकै फेला परेको थियो, जसको भिडियो पनि स्थानीयहरूले खिचेका छन्।
छिमेकी सुचित्र शाहका अनुसार राति करिब साढे १२ बजे सर्पदंशको जानकारी पाएका थिए। त्यसपछि उनलाई अटोरिक्सामा राखेर सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली थिएन। झन्डै डेढ घण्टापछि मात्र आईसीयूमा राखिए पनि उनलाई बचाउन सकिएन।
शनिबार साँझ ८ बजे कमलाको मृत्यु भयो। महिनावारी भएका कारण छाउगोठमा बसेकी कमलाको सर्पदंशबाट मृत्यु भएपछि उनका ६, ८, र १२ वर्षका तीन छोराहरू टुहुरा भएका छन्। श्रीमान भारतबाट अन्त्येष्टिका लागि फर्किंदै छन्।
कमलाको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। अछामको मेल्लेख गाउँपालिका–८ स्थायी घर भएकी कमला ‘घरमा सुत्यो भने देवता रिसाउँछन्’ भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतिरहेकी थिइन्।
छाउपडी कुप्रथाले फेरि लियो ज्यान
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाका अनुसार नगरपालिकाले छाउपडी कुप्रथाको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको भए पनि परम्परा अझै कायमै रहेको उनले बताए।
ओझाले भने, “बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्या देखिएको थियो। त्यसपछि वडा–वडामा सचेतनामूलक कार्यक्रम गरेका थियौं। तर अझै प्रथा नरोकिँदा यस्तो दुःखद् घटना भयो।”
नगरपालिकाले आगामी आर्थिक वर्षमा छाउपडी उन्मूलनका लागि विशेष अभियान सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिसकेको मेयर ओझाले बताए।
यो एक्लो घटना होइन
कमला आउजी छाउपडी कुप्रथाका कारण अकालमा ज्यान गुमाउने एक्लो महिला होइनन्। २०७९ साउन २३ मा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि छाउगोठमै सर्पले डस्दा मृत्यु भएको थियो।
सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान चलाएको थियो। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, सुदूरपश्चिमका सात जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काइएको छ। कञ्चनपुरमा मात्रै २३० वटा, अछाममा सबैभन्दा धेरै ५८१३, बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेलधुरामा २३ छाउगोठ भत्काइएको थियो।
तर, कानुन निर्माण र गोठ भत्काउने अभियान भए पनि छाउपडीको कुप्रथा भने सामाजिक रुपमा अझै उन्मूलन हुन सकेको छैन।
कानुन छ, कार्यान्वयन छैन
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार, महिलालाई महिनावारी वा सुत्केरी अवस्थामा छाउगोठमा राख्ने, भेदभाव गर्ने, अपमानजनक व्यवहार गर्ने वा गराउने कार्य अपराध मानिन्छ। यस्तो कार्य गरेमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेमा दुब्बर सजाय हुने व्यवस्था समेत गरिएको छ। साथै, दफा १६९ मा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि छ।
तर, कानुन हुँदाहुँदै पनि परम्परा र अन्धविश्वासको गहिरो प्रभावले गर्दा महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ।
संघीय संसद्बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुने प्रक्रियामा छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।
संघीय संसद् सचिवालयका अनुसार, उक्त प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधिसभामा त्यसबारे छलफल हुनेछ र त्यसपश्चात विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।
यो विधेयक पहिलोपटक २०८० सालको वैशाख २६ गते प्रतिनिधिसभामा पेश गरिएको थियो। त्यसपछि २०८२ वैशाख १६ गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको थियो। २०८२ असार १७ गते राष्ट्रिय सभाले संशोधनसहित पारित गरी पुनः प्रतिनिधिसभामा फिर्ता पठाएको हो।
अब, राष्ट्रिय सभाले गरेको संशोधनका सम्बन्धमा प्रतिनिधिसभामा छलफल हुन लागेको हो। प्रतिनिधिसभाले संशोधन स्वीकार गरेपछि विधेयक सभामुखको हस्ताक्षरमार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि विधेयक ऐनमा रूपान्तरित भई कार्यान्वयनमा आउनेछ।
यो ऐनमार्फत ७९ वटा फरक–फरक विषयका ऐनहरूमा संशोधन गरिनेछ।
गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक फेरि पहिरोका कारण अवरुद्ध भएको छ। आइतबार बिहान कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहित ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीका अनुसार, माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको छ। यसले यात्रु र स्थानीयवासीलाई प्रभावित पारेको छ।
सडक खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ, गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले सडक खुलाउने प्रयास सुरु गरिसकेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको एसपी अधिकारीले जानकारी दिएका छन्।
मनसुन सुरु भएसँगै कालीगण्डकी करिडोरमा पटक–पटक पहिरो जाँदा सडक अबरुद्ध हुने क्रम दोहोरिँदै आएको छ। यसै सन्दर्भमा एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो। आइतबार भने यसको मूल्य बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ।
यस आधारमा, आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको हो।
यस्तै, आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने कार्यसूची तय भएको छ।
आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत हुने कार्यसूचीमा उल्लेख गरिएको छ। सो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नेछन्।
त्यस्तै, ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि आजकै बैठकमा प्रस्तुत गरिनेछ। उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्ने कार्यसूची छ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।





